काठमाडौं - मे १ — आज १३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे दिवस) नेपालभर विभिन्न कार्यक्रमसहित मनाइँदैछ। यस अवसरमा नेपाल चलचित्र तथा कलाकार श्रमिक संगठन (फावन) ले सम्पूर्ण श्रमिक समुदायप्रति हार्दिक सम्मान र शुभकामना व्यक्त गरेको छ।
संगठनका अध्यक्ष खगेन्द्र प्याकुरेल, महासचिव राजन थापा, सचिव कमला जोशी सहति केन्द्रिय कार्यसमितिका सदस्यहरु, मानार्थ सदस्यहरु, सल्लाहकारहरु र सम्पूर्ण सदस्यहरूको तर्फबाट जारी शुभकामना सन्देशमा देश तथा विदेशमा आ–आफ्नो कार्यक्षेत्रमा सक्रिय सम्पूर्ण श्रमिक दिदीबहिनी तथा दाजुभाइहरूलाई समर्पित शुभकामना दिइएको छ।
शुभकामना सन्देशमा भनिएको छ, “यस दिवसको सन्दर्भमा हामी सबैलाई एकजुट भई मजदुरहरूको हक, अधिकार र हितको पक्षमा दृढतापूर्वक आवाज उठाउन आग्रह गर्दछौं। साथै, श्रमिक वर्गका साझा समस्याहरूको समाधानमा सक्रिय भूमिका निर्वाह गर्न सबैलाई आ–आफ्नो स्थानबाट प्रयत्नशील रहन पनि अपिल गर्दछौं।”
संगठनले राष्ट्रको समग्र विकासका लागि श्रमिकको मिहिनेत र योगदान अपरिहार्य भएको उल्लेख गर्दै श्रमिकहरूको सम्मान, सुरक्षा र अधिकार सुनिश्चित गर्न साझा प्रतिबद्धता आवश्यक रहेको स्पष्ट पारेको छ।नेपाल चलचित्र तथा कलाकार श्रमिक संगठन (फावन)ले यस दिनलाई श्रमिक वर्गप्रति सम्मान प्रकट गर्ने, एकता प्रदर्शन गर्ने र श्रमिक अधिकारको संवद्र्धनमा संलग्न हुने अवसरका रूपमा लिएको जनाएको छ।