काठमाडौं - संस्कृति बचाऔं महाअभियानको प्रतिनिधि मण्डलले देशमा बढदै गइरहेको साँस्कृतिक अतिक्रमण र विकृतिका घटनाबारे ध्यानाकर्षण भएको जनाएको छ । महाअभियानका संयोजक एवम् चलचित्रकर्मी मोहन निरौलाको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले पौष १५ मा प्रधानमन्त्री शेरवहादुर देउवासँग भेट गरी यस विषयमा ध्यान दिन आग्रह गरेको हो । प्रतिनिधि मण्डलले देशमा भएका पुरातात्विक सम्पदा एवं संस्कृतिलाई संरक्षण गर्नका लागि राज्यको तर्फबाट बिशेष चासो र पहल हुनुपर्ने माग गरेको छ ।
भेटमा प्रधानमन्त्री देउवाले महाअभियानलाई सफलताको शुभकामना दिदै सरकार संस्कृतिको संरक्षण गर्न सकारात्मक रहेको र सरकारको तर्फबाट यस अभियानलाई सहयोग मिल्ने आश्वासन दिए । परिवर्तन नेपाल अन्तर्गत गठन भएको नेपाली संस्कृति बचाऔं महाअभियान(२०७८ को २०७८ मंसिर २६ गते एक समारोहको बीच शुभारम्भ गरिएको थियो ।
कुनै पनि देशको सम्भ्यता र संस्कृतिसंग देशको पहिचान हुने हुनाले देशको अस्तित्व र गरिमालाई अक्षुण्य राख्नका लागि संस्कृति जीवन्त रहनु पर्ने अभियानको मुल उदेश्य रहेको छ । महाअभियानले हप्तामा एकपटक विभिन्न स्थानमा जनचेतनाका लागि अपील पनि गर्दै आएको छ । प्रतिनिधि मण्डल महाअभियानका संयोजक निरौलाको नेतृत्वमा महाअभियानका सदस्यहरू सुन्दर श्रेष्ठ, ठण्ड बहादुर अधिकारी, मुकुन्द मैनाली, मनोज भेटवाल, सुरज ढकाल र विश्वदीप घिमिरे रहेका छन् । प्रतिनिधि मण्डलले महाअभियानको प्रतिक स्वरूप नेपालको विविध संस्कृति र सम्पदा अंकित छाँया चित्र, अपिल एवं महाअभियानको कार्यक्रम पुस्तिका पनि अर्पण गरेको थियो ।